जयन्ती चौधरी,तुलसीपुर
११-माघ/ दाङ जिल्लामा दैनिकरुपमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्यामा वृद्धि भए पनि नागरिक स्तरमा भने कोरोनाबाट बच्नुु पर्छ भन्ने सोच देखिएको छैन । दैनिक जसो वित्तीय संघ सस्था, विवाह, पार्टी प्यालेस, पसल, सार्वजनिक सवारी साधन, बजारमा हिडडुल गर्ने नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा लापरवाही गरेको पाइन्छ । तर यसअघि जिल्ला प्रशासन कार्यालय दाङले कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गरेर कुनै पनि स्थानमा २५ जनाभन्दा बढी नागरिक भेला हुन नपाउने र त्यो २५ जनामा पनि स्वास्थ्य सतर्कताका मापदण्ड पालन गर्नुपर्ने भनेको छ । तर नागरिकले उक्त आदेशको वेवास्ता गरेका छन् ।

प्रशासनले यसअघि कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२०को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको पुस २९ गते बसेको बैठकले २९ गते रातीको १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने ९ बुंदे आदेश जारी गरेको थियो । कोरोना महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्टका लक्षण कडा नदेखिएको र सामान्य अवस्थामा भित्रभित्रै संक्रमण तीव्र हुन सक्ने जोखिमका कारण डिसिएमसीले जारी गरेको विज्ञप्तीमा २५ जनाभन्दा बढी भेला हुन नपाउने भनिएको थियो ।

तर नमरी स्वर्ग देखिँदैन भनेको जस्तै गरी कतिपय नागरिक भने कोरोनालाई बुझ्न र भोग्नका लागि भएपनि संक्रमण नै पर्खेर बसेको जस्तो देखिएका छन् । जो न त कोरोनासँग डराउँछन्, न त प्रशासनसँग नै । यसैका उदाहरण बनेका छन् सहरदेखि गाउँसम्म खुलेआम भइरहेका विवाह, मृत्यु संस्कारदेखि विभिन्न कार्यक्रमहरू । त्यस्तै बैंक, सार्वजनिक सवारी साधन, पसल लगायतका स्थानमा सामाजिक दूरी, मास्कको प्रयोग पनि नगरी खुलेयाम हिडडुल गरेर नागरिकहरुले कोरोना महामारीलाई गिज्याइरहेको जस्तो दृश्यहरु तमाम देख्न सकिन्छ । त्यस्तै जिल्लामा पछिल्लो दशदिनको अवधीमा सोमबारसम्म ३५३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । जसमध्यबाट सात जनाको राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाईमा उपचार भैरहेको छ भने ३४६ जना होम आइसोलेसनमा रहेका छन् ।

यसरी जिल्लामा संक्रमण पुष्टि हुनेको संख्यामा दिन प्रति दिन वृद्धि भए पनि नागरिक स्तरमा भने चेतनाको कमी अझै पनि शून्य जस्तै छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्ने हो भने जिल्लामा अझै कोरोना भाइरस संक्रमणको दर वृद्धि नहोला भन्न पनि सकिदैन् । कोरोना फोकल पर्सन चन्दले दिएको तथ्यांक अनुसार हालसम्म १४ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने हालसम्म जिल्लाका स्थायी ठेगाना भई विभिन्न स्थानमा मृत्यु हुनेको संख्या साढे तीन सय पुगेको छ । त्यस्तै जिल्लामा तेस्रो लहरको संक्रमणले सबैभन्दा बढी प्रभावित बनाएको स्थानीय तह तुलसीपुर उपमहानगरपालिका हो । सो पालिकामा दैनिक ५० प्रतिशत बढी नागरिकमा कोरोना संक्रमण पुष्टि हुने गरेको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले बताए ।

फोकल पर्सन केसीका अनुसार तुलसीपुरमा सोमबारसम्म ३२२ जना संक्रिय संक्रमितको संख्या पुगेको छ । उक्त क्षेत्रमा ६ वर्ष उमेर समूहदेखि ८३ वर्ष उमेर समूहसम्मका नागरिकलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै सोमबारसम्ममा तुलसीपुरमा पौष १८ गते यता तेस्रो लहरमा १६५१ जनाको परिक्षण गर्दा ५७५ जनामा संक्रमण पुष्टि भएकोे र एक जनाको मृत्यु भएको छ । भने हालसम्म २५२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै तुलसीपुरमा मात्रै कोरोना भाइरस विरुद्धको खोप एक लाख १३ सय ४० जनाले पहिलो मात्रा र ९५ हजार २७७ जनाले दोस्रो मात्रा खोप लगाएको केसीले जानकारी दिए ।
सचेतना तथा परामर्शमै अत्कियो प्रशासन
आम नागरिकले प्रशासनले जारी गरेको सूचनालाई अवज्ञा गरेका छन् अब के गर्छ प्रशासनले रु भनि प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दण्ड जरीवाना अहिलेनै गरि नसकेको प्रतिक्रिया दिएका छन् । सर्वप्रथम नागरिक स्तरमा जनचेतना तथा परामर्श अभिवृद्धि गर्ने तर्फ प्रशासन अग्रसर भएको बताए । जिल्लाका मुख्य क्षेत्र तुलसीपुर, घोराही, लमही लगायतका क्षेत्रमा जनचेतना तथा परार्मशका लागि विभिन्न संघसंस्था लगायतलाई जिम्मेवारी प्रदान तथा प्रहरीसंग समन्वय गरी अभियाननै सञ्चालन गरेको प्रमुख रेग्मीको भनाई छ । ‘जबसम्म नागरिकस्तरमा जनचेतनाको अभिवृद्धि हुदैन् तबसम्म कोरोना महामारीलाई नियन्त्रण गर्ने योजना सफल नहुने उनले भने ।’ त्यस्तै प्रमुख रेग्मीले जिल्लामा अहिलेनै लकडाउन गर्नु पर्ने स्थिती आइनसकेकोले लकडाउन गर्नु नपर्ने बताए । तर जिल्लाका अति संक्रमित क्षेत्रमा भने ‘स्मार्ट लकडाउन’ गर्न सकिने बताए ।

प्रतिकृया

प्रतिकृया