तुलसीपुर,
१-कात्तिक/ आगामी मंसिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी) को तालिम सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ । यस पटक म्यादी प्रहरी भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा बढी देखिएको छ ।

देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएकामा दुई लाख ३४ हजार ३६२ जनाले आवेदन दिएका थिए । भर्ना प्रक्रियाबाट छनोट भएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन स्थलमा परिचालन गर्ने तयारी गरिएको छ । म्यादी प्रहरीमा भर्ना भएकाले ४० दिन निर्वाचन सुरक्षामा खटिनुपर्नेछ। त्यसबापत उनीहरूले एकमुष्ट ५१ हजार १६० रुपियाँ पाउनेछन् ।

यसैगरी दुर्गम हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई न्यानो कपडाबापत थप एक हजार रुपियाँ उपलब्ध गराइने बताइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षका लागि खटिने म्यादी प्रहरीले ड्रेस, जुत्ता, सिट्ठी, लौरो प्रयोग गर्न पाउनेछन् । म्यादी प्रहरीको तालिम सकिएसँगै आगामी कात्तिक ९ गतेदेखि उनीहरूलाई मतदान स्थलको सुरक्षामा परिचालन गरिनेछ । मंसिर ८ गते देशभरका म्यादी प्रहरीको बिदाइ गरिनेछ ।

प्रतिकृया

प्रतिकृया