तुलसीपुर
६ कार्तिक/ हिन्दुहरुको महत्वपूर्ण पर्वको रुपमा लिइने यमपञ्चक (तिहार पर्व ) आज देखि सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । कागलाई आज मनपर्ने परिकार भोजन गराएर कागको पूजा गरिँ पहिलो दिन काग तिहार मनाइदै छ । कागपूजा देखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता रहेको छ ।
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिनमा संस्मरण गरिन्छ । कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ । कागलाई भोजन गराउँदा भोजन सीधै पितृले पाउँछन् भन्ने मान्यता रहेको छ ।
निकै चतुर पक्षीका रूपमा कागलाई लिइन्छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ । यसै दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ ।
तिहारको दोस्रो दिन कुकुर तिहार मानिन्छ । तेस्रो दिन गाइ तिहार लक्ष्मी पुजा गरिन्छ , चौथो दिन गोरु तथा गोवर्धन पुजा गरिने र पाचौ दिन भाइ टिका लगाएर तिहारलाई विदाई गरिने गरिन्छ । यस पटको भाइ टिकाको साइत कार्तिक १० गते बिहिवार विहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।